आश्विन १३ -
बलात्कारका घटनासम्बन्धी समाचारमा बलात्कारमा पीडित हुने महिलाको नाम र थर परिवर्तन गरिएको कुरो उल्लेख हुन्छ। महिला अधिकारवादीहरूले पनि बलात्कारमा परेको महिलाको नाम नलुकाउने र पीडामा परेको महिलाको जीवन रूपान्तरण गर्ने कुरामा भन्दा बढी जोड बलात्कारीलाई सकेसम्म निर्मम र कठोर दण्ड दिनेमा दिएका छन्। मलाई लाग्छ, जबसम्म मिडियामा नाम परिवर्तन गरिएको भनेर समाचार लेखिरहन्छौं, प्रकारान्तरमा त्यसले महिलालाई नै कमजोर बनाइरहेको हुन्छ। नाम लुकाउनुको अर्थ के? भय। पीडितको भोलि विवाह नहोला भन्ने भय। समाजले उल्टै उसलाई दोषी देख्ला कि भन्ने भय। यदि हामी त्यो भयबाट भागिरहन्छौं भने त यसको अर्थ हुनगयो, बलात्कारी शक्तिशाली र पीडितचाहिँ कमजोर। यस्ता कुराले त बलात्कार गर्ने नै ठीक र बलात्कृत हुने महिलाचाहिँ अपराधीजस्तो देखिन्छ।
हरेक समाजमा बलात्कारका घटना घट्छन्। सभ्यताको पहिलो चरणदेखि नै सम्भवतः यो अस्तित्वमा थियो, तर आजजस्तो विकृत थिएन। किनभने त्यतिखेर यौन वर्जित थिएन र सहज रूपमा प्राप्य थियो। बलात्कार पनि आम अपराधका घटनाजस्तै एक घटना हो। कसैले सांघातिक हमला गर्नुजस्तै अर्को एउटा गलत कृत्य हो, बलात्कार। र बलात्कारमा महिला अरु कसैको अपराधको सिकारमात्र भएका हुन्। कसैबाट कुटिँदा जसरी कुटिने व्यक्तिले बिना कुनै संकोच यसले मलाई कुटपिट गर्यो भन्न सक्छन्, त्यसैगरी कसैले यौनहिंसा गर्दा पनि महिलाले त्यसैगरी यसले मलाई यसोयसो गरेर यौनहिंसा गर्यो भन्न सक्नुपर्छ।
के हामीले एउटा बलात्कृतको नाम लुकाउँदा या लुकाउन प्रेरित गर्दा संसारबाटै यो कृत्य रोकिन सक्छ? कहिलेसम्म बलात्कारको सिकार हुने महिलाको नाम लुकाइरहने? नाम लुकाएर बलात्कारका घटना निसन्देह कम हुँदैनन्।
नाम लुकाउन खोज्नेहरूको पनि आफ्नै तर्क छ। वैवाहिक जीवनमा यसले अप्ठ्यारो पार्ने अथवा समाजमा मुख देखाउन गाह्रो हुने तर्क कतिपयको छ। नाम थाहा पाए अविवाहित केटी भए भोलि हुने उसको विवाहमा असर पर्ने र विवाहित भए समाज र उसको आफ्नै परिवारमा समेत सहज पुनःस्थापना हुन गाह्रो हुने तर्क गरिन्छ। महिला अधिकारका लागि कलम चलाउनेहरूको यही बोली छ। भविष्यको चिन्ता गर्दै नाम लुकाउन खोजिएको धेरैको ठम्याइ छ। मेरो प्रश्न, कहिलेसम्म हामी लुकिरहने? कसैले मलाई चिन्ला कित भनेर कहिलेसम्म भागिरहने? अस्पतालमा उपचार गर्न लगिन्छ। त्यहाँ के भन्ने? परिवारमा त अवश्य थाहा हुन्छ। त्यहाँ कसरी छोप्ने? कि संसारबाट केही समयमै बलात्कारको घटना निमिट्यान्न हुनेवाला छ? इतिहासमा कल्पनै गर्न नसकिने, आङ सिरिङ्ग पार्ने र विचेत पार्ने खालका घटना भएका छन्। तिनका अगाडि यौनहिंसा मात्र अर्को एउटा हिंसाका रूपमा हामीले बुझ्ने र बुझाउने गर्दा हुन्न?
नेपाली तथा भारतीय समाजमा बलात्कारलाई अति नै विषद समस्या ठान्दै त्यसको उठान गरिएको देखिन्छ। तर समाधानको तर्कमा अत्यन्त कठोर कानुनको माग गरिएको हुन्छ। कानुनले मात्र हुन्थ्यो भने त समाजमा हत्या र आतंक नै बन्द हुनुपर्ने हो। हत्या गरेबापत हत्याराले पुरै जीवन जेलमा बिताउँछ। लाखांै रुपैयाँ हर्जना तिर्छ। के कानुन मात्र बलियो भएर पुग्यो त? मृत्युदण्ड नै दिने समाजमा पनि हत्याको शृङ्खला रोकिएको छैन। जबसम्म हामी समाजमा बस्नेहरू बलात्कारलाई मात्र शरीरको क्षति अथवा कुण्ठाले व्यग्र अपराधीले गरेको एउटा मानवीय गल्तीका रूपमा लिन थाल्छौं, तब बलात्कारका लागि कुनै विशेष कानुन आवश्यक पर्दैन। तर बलात्कार महिलाको कुनै अंगमाथि भएको आक्रमण होइन, यो त महिलामाथि भएको जघन्य अपराध हो भनेर व्याख्या गरिन्छ, तबसम्म बलात्कार ठूलो आतंक बन्छ। आजसम्मको हाम्रो कानुन र कानुनी व्यवस्थालाई हेर्दा महिला बलात्कार हुँदा बलात्कारीले केही आर्थिक बिगो भर्पाइ भर्छ वा केही समय जेलमा बस्छ,त्यसपछि बलात्कारी फेरि यही समाजमै आउँछ र हुन सक्छ, फेरि अर्काे बलात्कारको प्रयास पनि गर्ला। यसबाट अन्ततः के भयो?
बलात्कारजस्तो विषय कानुन र सजायले मात्र समेट्ने विषय होइन। जबसम्म बलात्कारमा परेका महिलालाई मेरी बहिनी, मेरी छोरी, मेरी श्रीमती, मेरी बुहारी र मेरी आमा भन्ने आँट गरिन्न र यी नातालाई लुकाइन्छ, त्यस्ता सम्बन्धलाई सहजै स्वीकार गरिन्न, तबसम्म बलात्कारका घटना घट्नेवाला छैनन्र उल्टै बलात्कारको महापापको दाग लाग्ला भने सयौं महिलाहरू मानसिक रूपमा त्रस्त जीवन बाँचिरहने छन्। कतिले त ज्यानै फाल्न पनि सक्छन्। एउटा मोटरसाइकल दुर्घटनामा परेको अथवा सांघातिक हमलामा परेको रूपमा बलात्कृत नारीलाई पुरुषले इज्जतसाथ जीवनसाथी, बहिनी, दिदी, आमा, भाउजू वा साथीको रूपमा स्वीकार गर्न नसकेसम्म यस्ता दुर्घटनामा परेकाहरूको जीवन रूपान्तरण हँुदैन।
किन लुकाउने बलात्कृतको नाम?
Full Text Sharing
Categories:
Add new comment