मेरो जिन्दगी, मेरै मर्जी

Full Text Sharing
Categories: 
विपश्यनाको पछिलो बसाईको अन्तिम दिन एक फ्रेन्च महिलासँग मेरो परिचय भयो। उमेरले ५० काटेकी उनले विवाह गरेकी थिइनन्। मैले सोधे, 'तिम्रो परिवारले विवाहको लागि प्रेसर दिदैनन्?' उनले उल्टो आश्चर्य मान्दै भनिन्,'जिन्दगी मेरो हो। विवाह गरुँ या नगरुँ, अरुले किन प्रेसर दिने?' 
 
कामको शिलशिलामा अलिक अघि एक अमेरिकी पुरुषसँग मेरो परिचय भयो।  ५५ वर्षका उनी पनि विवाहित होइनन्, दुई सन्तानका वावु भने हुन्। "त्यस्तो पनि हुन्छ र ?" मैले अलि आश्चर्य मिश्रीत स्वरमा सोधेँ।  
 
ऊनको पनि त्यस्तै उत्तर, "मेरो जिन्दगी मेरो मर्जी। हाम्रोमा यस्तो कुनै नौलो होइन। बिहे नगरी महिला पुरुषसँगै बस्छन्, बच्चा जन्मिन्छन्। यो सामान्य कुरा हो।"  
 
भर्खरै जर्मनीमा लामो समय बसेर आएको एक साथीले सुनायो- जर्मनीमा कुनै महिलाले बच्चा जन्माइन् भने उसको बावुको खोजी बच्चा १८ वर्ष भएपछि मात्र गरिन्छ। नगरिन पनि सक्छ रे। 
 
यी तीनवटै मुलुक विकसित र सभ्य देशमा गनिन्छन्। संसारमा सभ्यताको मापन देशको नाम, भूगोल वा आर्थिक प्रगतिका आधारमा हुँदैन। सभ्यताको मापन, शिक्षा, स्वास्थ्य, रोजगारी, मानव अधिकारको आधारमा गरिन्छ। अझ नागरिकको मौलिक अधिकार र सबै खाले विभेद र होचो अर्घेल्याईँबाट उनीहरुको मुक्ति नै कालान्तरमा त्यो समाजको सभ्यताको मापक हो। 
 
नेपाली समाज कहिले आर्थिक रुपमा विकसित भैसक्ला त्यो मलाई थाह छैन। हामी सभ्य मुलुक बन्न भने धेरै लामो समय लाग्ने छ।  मानिसलाई झिनामसिना झैँ लाग्ने यति धेरै गहन कुराहरु छन्, तिनमा बदलाव आउनु पर्ने छ। त्यो दुई रातमा सम्वभ छैन।  
 
हाम्रो समाज र राज्य कस्तो छ भने, आफैले पाएको सन्तानलाई आमाको नाम दिन सँधैको नारा जुलुस र अनसन बस्नुपर्छ। मेरो देशमा मेरो पहिलो मानव अधिकार त्यही हनन् भयो। सभ्यताको अन्त्य यहीँ भयो। 
 
बावुको नामबाट मात्रै नागरिकता पाउने कानूनी प्रावधानले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउँछ। के त्यो कानूनले प्राकृतिक नियमको उल्लघन गरेको छैन? आमाले बच्चा पाउने शास्वत कुरा हो। आमा प्रथम सत्य हुन्। बाउ दोस्रो सत्य मात्र हुन्। अरु त के, आमाले नभनी बच्चाको बावु को हुन् पनि थाहा हुन्न!
 
प्रथम सत्य लत्याउँदै हाम्रो समाज दोस्रो सत्यलाई बाकेर हिँडदैछ। कारण स्पष्ट छ, हाम्रो समाज पुरुष प्रधान छ। यो समाजले महिलामाथि दमन र अन्याय गर्छ। हाम्रो समाज असभ्य हुनुको पहिलो प्रमाण यही हो। 
अर्को प्रसंग हेरौं, छोरी पाउने महिलाको बसको कुरा होइन। छोरा वा छोरी जन्मनुमा पुरुषनै निर्णायक हुने तथ्य विज्ञानले नै प्रमाणित गरिसक्यो। यति हुँदा हुँदै पनि छोरी पाएको दोष चाँही विचरा “हामीलाई” लगाइन्छ। आफैले पाएको सन्तानमाथिको विवेद कहाली लाग्दो छ। पछिल्लो तथ्याङक हेर्ने हो भने नेपालमा वर्षेनी छोरा मान्छेको संख्या बढेको र छोरी मानिसको संख्या घट्दो देखिन्छ। यसले छोरी जाति माथि भैरहेको क्रुरताको स्पष्ट संकेत गर्छ। 
 
म केहि समय अघि सिराहको एउटा गाउँमा थिएँ। रमझमको साँझ थियो,ठूलो आवाजमा हिन्दी गीत बज्यो। म उन्मुक्त भएर नाचेँ। मैले अरु गाउँले केटीहरुलाई पनि नचाउन खोजेँ। केटीहरुको आँखामा नाच्ने चाहना अवश्य थियो, तर उनीहरु नाच्न सकेनन्। मैले नचाउन सकिन। म नाच्दानै वरपरका मान्छेले मलाई यसरी हेरे मानौँ म अपराधी हो।  
 
मलाई थाहा थियो उनीहरु म जसरि नाच्न पाउँदैनन्। किन भने उनीहरु “केटी” हुन्। र उनीहरु सिराहको कुनै गाउँमा बस्छन्। 
 
गीतमा नाँच्न नपाउने, आफूलाई मन परेको लुगा लाउन नपाउने, आफू भएर महिलाले बाँच्न नपाउने, यो कस्तो समाज हो? कुन ऐनामा देखाउँदा यो समाज सभ्य देखिएला?
 
महिलाको नाममा उसका सन्तानलाई नागरिकता देउ भनेर संघर्ष गर्नुपर्ने, बलात्कारीलाई सजाय देउ भन्न पनि सिंहदरबारनै घेर्नै पर्नै अनि महिलालाई न्युनतम मौलिक अधिकार नखोस भन्न पनि संघर्ष नै गर्नुपर्ने? सामान्य भन्दा सामान्य घटनामा पनि ठूलो शक्ति प्रदर्शन गरेर मात्रै न्यायको ढोका खुल्ने कस्तो समाज हो यो? 
 
मैले पनि त्यो अमेरिकी नागरिकजस्तै मेरो विहे भएको छैन, तर सन्तानको आमा बन्दैछु भनेर निर्धक्क भन्न किन नपाउने? त्यो फ्रेन्च महिलाले जस्तै ५० वर्षको उमेरसम्म पनि विवाह नगरिकन र कसैलाई जवाफ नदिइकन मैले कहिले जिन्दगी बिताउन पाउने? 
 
मेरो छोरा-छोरीको नाम र नागरिकता मेरै नामबाट राख्न मैले कहिले पाउने? कुनै अर्को पुरुषविना म एक्लै, निर्धक्क र  सुरक्षित रातविरात हिँड्न कहिले पाउने? 
 
हाम्रो सामाजिक व्यवस्थाले महिलालाई पिंजडाको सुगा झै राखेको छ। पिजंडाको सुगाले जसरी बाहिरको संसार देख्न त सक्छ, उपभोग गर्न सक्दैन, हाम्रो समाजमा महिलाहरुको हाल त्यस्तै छ। संसारको सब कुरा देखेका छौ तर त्यसको भोग गर्न पाउँदैनौ। 
 
सभ्य हुनलाई देशमा सुनखानी हुनु पर्दैन। देशले चन्द्रमामा रकेट पनि पुर्‍याउनु पर्दैन। सभ्यता भनेको सबै नागरिकले स्वतन्त्रता, पहिचान र आत्मासम्मान सहित जिन्दगी बाँच्न पाउनु हो, एकले अर्कोलाई कष्ट नदिई बाँच्न पाउनु हो।  
Position:

Add new comment

Filtered HTML

  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <blockquote> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

Plain text

  • No HTML tags allowed.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

About Us

The idea is simple: creating an open “Portal” where engaged and committed citizens who feel to share their ideas and offer their opinions on development related issues have the opportunity to do...

Contact

Please fell free to contact us. We appreciate your feedback and look forward to hearing from you.

Empowered by ENGAGE,
Toward the Volunteering Inspired Society.